विद्युत आपूर्तिको समस्या उठाउँदै सांसद प्रकाश पाठकद्वारा कुलमान घिसिङको स्मरण

काठमाडौंं, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले प्रतिनिधि सभा बैठकमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल स्मरण गर्दै विद्युत आपूर्तिको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै सांसद पाठकले झापामा बढ्दो विद्युत आपूर्ति अवरोध र कम भोल्टेजको समस्याबारे चिन्ता व्यक्त गर्दै ४० डिग्री तापक्रममा समेत नागरिकले नियमित विद्युत सेवा नपाएको बताए।

उनका अनुसार झापाको बिर्तामोड–अनारमनी क्षेत्रबाट घैलाडुब्बा जाने ३३ केभी लाइनमा आगलागी भएपछि करिब ७ घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको थियो। आपूर्ति पुनः सुचारु भए पनि कम भोल्टेज र बारम्बार लाइन जाने समस्या यथावत रहेको उनले बताए।

सांसद पाठकले लोडसेडिङ अन्त्य गर्न नेतृत्व गरेका तत्कालीन प्राधिकरण प्रमुख कुलमान घिसिङलाई स्मरण गर्दै वर्तमान व्यवस्थापनप्रति प्रश्न उठाए।

उनले प्रश्न गरे, ‘विद्युत अवरुद्ध हुने समस्या दिनदिनै बढिरहेको छ। ४० डिग्रीको गर्मीमा नागरिकलाई राज्यले चिन्न छाडेको हो?’ साथै उनले भरपर्दो सेवा नपाउँदा सरकारप्रति नागरिकको विश्वास कमजोर हुने चेतावनी दिए।

उनले नागरिकले पैसा तिरेर पनि गुणस्तरीय सेवा नपाउनु गम्भीर समस्या भएको उल्लेख गर्दै सरकारले जनताको आधारभूत सेवाप्रति गम्भीर हुनुपर्ने बताए।

यसैबीच, पूर्वऊर्जा प्रमुख कुलमान घिसिङ हाल उज्यालो नेपाल अभियानमार्फत राजनीतिक गतिविधिमा संलग्न रहेका छन्। उनले पछिल्लो निर्वाचनमा काठमाडौं–३ मा प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्