इन्टर्न चिकित्सकको न्यून पारिश्रमिक र श्रम शोषणबारे सरकारको ध्यानाकर्षण

काठमाडौंं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्मा ओलीले चिकित्सा शिक्षण संस्थामा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक तथा श्रम शोषणप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिन्।

उनका अनुसार सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकहरूले अत्यन्त न्यून भत्तामा लामो समयसम्म काम गर्नुपर्ने बाध्यता रहेको छ। यसले चिकित्सकहरूमा असन्तुष्टि बढ्नुका साथै दक्ष जनशक्ति विदेश पलायन हुने जोखिमसमेत बढाएको उनले बताइन्।

ओलीले विभिन्न कार्यदलहरूले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरे पनि उक्त प्रतिवेदन कार्यान्वयनमा नआएको जानकारी दिइन्। उनका अनुसार उक्त प्रस्ताव चिकित्सा शिक्षा आयोगमा पुगेको ९० दिन बितिसक्दा पनि कुनै ठोस निर्णय भएको छैन।

उनले नेपालको श्रम ऐन, २०७४ अनुसार श्रमिकका लागि तय गरिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिक इन्टर्न चिकित्सकको हकमा लागू नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गरिन्।

सरकारले पटक–पटक आश्वासन दिए पनि ठोस कदम नचालेको भन्दै इन्टर्न चिकित्सकहरूले आगामी शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गरेको समेत उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्