रास्वपाद्वारा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व अनिवार्य
काठमाडौंं, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सबै तहका समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।
चितवनमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनले संशोधित विधान पारित गर्दै संगठनका प्रत्येक संरचनामा महिला र युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको हो।
नयाँ विधानअनुसार पार्टीका सम्पूर्ण समिति, विभाग तथा निकायमा कम्तीमा ३३ प्रतिशत महिला र कम्तीमा ३३ प्रतिशत युवाको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य गरिएको छ। साथै देशको भूगोल, जनसंख्या, सामाजिक विविधता तथा सीमान्तकृत समुदायको यथार्थलाई समेत ध्यानमा राखी समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख छ।
रास्वपाले समानुपातिक प्रतिनिधित्व प्रणालीमा ‘एक व्यक्ति, एक अवसर’ नीति पनि लागू गरेको छ। विधानअनुसार राज्यको पिँधमा रहेका सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायलाई नेतृत्वमा ल्याउन समावेशिताको सिद्धान्त अपनाइने भए पनि समानुपातिक अवसर वितरणमा एउटै व्यक्तिलाई पटक–पटक अवसर नदिने व्यवस्था गरिएको छ।
पार्टीले यो व्यवस्था समावेशी लोकतन्त्रलाई बलियो बनाउँदै नेतृत्वमा नयाँ पुस्ता र विविध समुदायको सहभागिता बढाउने उद्देश्यले लागू गरिएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्