जापानबाट कांग्रेसका जनसम्पर्क समितिको अधिवेशन सुरु, राजेन्द्र जमरकट्टेल अध्यक्ष निर्वाचित
काठमाडौंं, २२ असार । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन औपचारिक रूपमा सुरु गरेको छ। यसअन्तर्गत आइतबार नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट राजेन्द्र जमरकट्टेल सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्।
टोकियोको चुबाछी गार्डे सिबुयामा आयोजित अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन थापाले भर्चुअल माध्यमबाट गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले नयाँ विधानअनुसार जनसम्पर्क समितिबाट पनि नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको बताए। उनका अनुसार यस व्यवस्थाले विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्ताको भूमिका थप प्रभावकारी बन्नेछ।
सभापति गगन थापाले जापानबाट जनसम्पर्क समितिहरूको अधिवेशन सुरु भएको जानकारी दिँदै अब दक्षिण कोरिया र अमेरिकामा पनि अधिवेशन हुने बताए। उनले ती देशका अधिवेशनका लागि पार्टीले प्रतिनिधि समेत खटाइसकेको जानकारी दिए।
उनले जनसम्पर्क समितिका अधिवेशन अब अवरुद्ध नहुने वातावरण निर्माण गरिने बताउँदै पार्टीभित्र देखिएका मतभेद संवादमार्फत समाधान गरिने उल्लेख गरे। साथै सबै कार्यकर्तालाई अधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरे।
सभापति थापाले विगतमा जनसम्पर्क समितिबाट आउने प्रतिनिधिको विषयलाई लिएर अनावश्यक विवाद हुने गरेको स्मरण गर्दै अब विधानअनुसार पारदर्शी व्यवस्था लागू गरिएको बताए।
उनका अनुसार अब जनसम्पर्क समितिबाट प्रतिस्पर्धामार्फत सात जना प्रतिनिधि नेपाली कांग्रेसको केन्द्रीय समितिमा चयन हुने व्यवस्था गरिएको छ। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिलाई मतदाता मात्रै रहने व्यवस्था रहेकामा अब उनीहरूले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दिन र निर्वाचित हुन सक्नेछन्।
थापाले पार्टीले अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरिसकेको जानकारी दिँदै यस समितिमार्फत विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको नीति निर्माण प्रक्रियामा समेत योगदान गर्न सक्ने बताए।
उनले नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको उल्लेख गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको जानकारी दिए। कांग्रेसले आगामी असोजमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।












प्रतिक्रिया दिनुहोस्