ट्रेड युनियन काँग्रेसको अध्यक्षमा आचार्य निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित भएका छन् ।
छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याएका निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् ।
यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका हुन् ।
यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दाहाल र आचार्यबीच दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवार विजय भएका छन् ।
कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्दै, मजदूरलाई आर्थिकरुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्