कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म बढायो

काठमाडौं, २१ असार । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म थप गरेको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार वडा र क्षेत्रीय सभापतिहरूको मागअनुसार सदस्यता वितरणको समय थप गर्ने निर्णय गरिएको हो।

उनका अनुसार अब साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया जारी रहनेछ। कांग्रेसले अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने व्यवस्था मिलाएको जनाएको छ।

यसअघि पार्टीले साउन २० गतेसम्म नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। सदस्यता विस्तार अभियानलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत परिचालन गरिएको छ।

कांग्रेसले विशेषगरी ३५ वर्षमुनिका युवालाई क्रियाशील सदस्यका रूपमा पार्टीमा आबद्ध गराउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिरहेको जनाएको छ। विशेष महाधिवेशनमा प्रस्तावित विधानअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा कम्तीमा तीन जना युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएकाले पनि युवा सहभागितालाई प्राथमिकतामा राखिएको पार्टीको भनाइ छ।

यसअघि कांग्रेसले करिब ६ लाख क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरिसकेको छ। पार्टीले असोजमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ। त्यसअघि मातहतका समितिहरूको अधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक र नयाँ सदस्यता वितरणको काम अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्