क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ भित्र बुझाउन तरुण दलको निर्देशन

काठमाडौं, २१ असार । नेपाल तरुण दलले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानअन्तर्गत खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई असार २५ गतेभित्र प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिएको छ।

दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा परिचालित केन्द्रीय प्रतिनिधिहरूलाई असार २५ गते राति १२ बजेसम्म अनिवार्य रूपमा विस्तृत प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइसक्न निर्देशन दिएका हुन्।

विज्ञप्तिअनुसार तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभए सम्बन्धित केन्द्रीय प्रतिनिधि तथा जिल्ला कार्यसमितिको अभियान अपूर्ण मानिने उल्लेख गरिएको छ।

दलले अभियानलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी निर्धारित समयभित्र प्रतिवेदन इमेलमार्फत पठाउन पनि आग्रह गरेको छ।

परिपत्रअनुसार केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्ला कार्यसमितिसँग आवश्यक समन्वय र सहकार्य गर्दै वडा तथा पालिका तहसम्म अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने निर्देशन दिइएको छ।

तरुण दलले क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई समयमै सम्पन्न गरी प्रतिवेदन केन्द्रमा उपलब्ध गराउन सबै प्रतिनिधि र जिल्ला कार्यसमितिलाई सक्रिय रूपमा काम गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्