रास्वपाको विद्युतीय मतदानमा उठेका प्रश्नबारे प्रविधि कम्पनीको ५ बुँदे प्रष्टीकरण
काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान उपकरणबारे उठेका प्रश्नपछि प्रविधि सेवा प्रदायक कम्पनी राम लक्ष्मण इनोभेसन प्रालिले प्रष्टीकरण दिएको छ।
असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनमा प्रयोग गरिएको मतदान प्रणालीबारे विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठेपछि कम्पनीले बुँदागत रूपमा स्पष्टिकरण सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार महाधिवेशन अझ व्यवस्थित र छिटोछरितो बनाउन सकिने पर्याप्त सम्भावना हुँदाहुँदै पनि व्यवस्थापन पक्षका निर्णय र अन्तिम समयमा गरिएको परिवर्तनका कारण अपेक्षित प्रक्रिया सहज हुन नसकेको जनाएको छ।
५ बुँदामा कम्पनीको प्रष्टीकरण
कम्पनीले दिएको प्रष्टीकरणअनुसार निर्वाचन समितिको निर्णय र अन्तिम निर्देशनका कारण प्रणालीमा विभिन्न परिवर्तन गर्नुपरेको जनाएको छ।
१. एउटै पदमा धेरै उम्मेदवार
कम्पनीका अनुसार मतदान उपकरण निर्वाचन समितिले उपलब्ध गराएको अन्तिम नामावलीका आधारमा तयार गरिएको हो। तर अन्तिम समयमा सबै उम्मेदवारलाई एउटै समूहमा राखेर ६४ जनासम्म चयन गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो, जसले प्रणालीको संरचना जटिल बनाएको दाबी गरिएको छ।
२. उम्मेदवार सूची र संरचना
निर्वाचन प्रक्रियामा प्रयोग हुने सबै विवरण निर्वाचन समितिबाट प्राप्त अन्तिम नामावलीअनुसार समावेश गरिएको र प्रणालीमा कुनै स्वतन्त्र परिवर्तन नगरिएको कम्पनीले जनाएको छ।
३. अनिवार्य मतदानको निर्णय
प्रारम्भमा ऐच्छिक मतदानको योजना भए पनि पछि निर्वाचन समितिको लिखित निर्देशनअनुसार अनिवार्य मतदान लागू गरिएको कम्पनीको भनाइ छ। सो परिवर्तनले प्रक्रिया केही जटिल बनेको उल्लेख छ।
४. उम्मेदवारको फोटो समावेश नभएको
प्राविधिक रूपमा फोटोसहितको मतपत्र तयार गर्न सकिने भए पनि अन्तिम समयमा गरिएको संरचनात्मक परिवर्तन र समय अभावका कारण फोटोबिनै मतदान सञ्चालन गर्नुपरेको कम्पनीले स्पष्ट पारेको छ।
५. नतिजा ढिलाइबारे स्पष्टता
मतगणना उपकरणले करिब १० मिनेटमै नतिजा निकाल्न सके पनि प्रवासको मतदान प्रक्रिया पूरा नभएकाले समग्र नतिजा ढिलो सार्वजनिक भएको कम्पनीको दाबी छ। अन्तिम नतिजा मिलान र प्रमाणीकरण निर्वाचन समितिको प्रक्रियाका कारण समय लागेको उल्लेख गरिएको छ।
कम्पनीले महाधिवेशन प्रविधिगत रूपमा सफल बनाउन सकिने अवस्था भए पनि अन्तिम निर्णय र व्यवस्थापनका कारण केही चुनौती देखिएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्