कांग्रेस संस्थापनइतर समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने, महाधिवेशन तयारी त्यहीँबाट

काठमाडौं, १९ असार । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारीलाई केन्द्रित गर्दै काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गरी महाधिवेशनसम्बन्धी छलफल तथा बैठकहरू त्यहीँबाट गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असार २२ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयबाट नियमित बैठक र महाधिवेशन तयारीका गतिविधि सञ्चालन गरिने जानकारी दिए।

आजको बैठकमा नेता शेखर कोइराला र उनीनिकट नेताहरू भने सहभागी भएनन्। छलफलमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको मात्रै सहभागिता रहेको थियो।

चुनदेवीमा स्थापना हुने सम्पर्क कार्यालयमा शेखर कोइरालानिकट नेताहरू सहभागी हुने वा नहुने विषय अझै टुंगो लागिसकेको छैन। कोइराला पक्षले भने लामो समयदेखि काठमाडौंको विशालनगरस्थित बालुवाटार क्षेत्रमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ।

नेपाली कांग्रेसमा महाधिवेशनअघि विभिन्न नेताहरूले आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्न छुट्टाछुट्टै सम्पर्क कार्यालय स्थापना गर्ने अभ्यास रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्