सांसद सापकोटाद्वारा गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग

काठमाडौं, १९ असार । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजाको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा उल्लेख्य सुधार ल्याउन सकिने बताइन्।

सांसद सापकोटाले विगत तीन वर्षदेखि आफूले यो विषय उठाउँदै आएको उल्लेख गर्दै गाँजाको औषधीय तथा औद्योगिक महत्त्वलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखिन्।

उनका अनुसार गाँजाबाट तेल, कपडा तथा औषधिजन्य उत्पादन गरेर लाखौँ युवालाई स्वदेशमै रोजगारी दिन सकिने सम्भावना छ। उनले गाँजालाई केवल मनोरञ्जनको दृष्टिकोणबाट मात्र हेर्न नहुने तर्कसमेत गरिन्।

सापकोटाले गण्डकी प्रदेश सरकारले आगामी बजेटमा गाँजा खेतीसम्बन्धी अनुसन्धान तथा आय–आर्जनका लागि उत्पादन र मूल्य शृङ्खला विकास गर्ने नीति ल्याएकोप्रति प्रशंसा व्यक्त गरिन्।

उनले संघीय सरकारले पनि यस विषयलाई प्राथमिकतामा राख्दै कानुनी तथा नीतिगत बाधा हटाउनुपर्ने आवश्यकता औँल्याइन्।

प्रतिक्रिया दिनुहोस्