सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा
काठमाडौं, १९ असार । सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि उक्त सेवा इकाइ सञ्चालनमा ल्याइएको हो।
निजामती कर्मचारीलाई कार्यस्थलमै सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा इकाइ स्थापना गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
मन्त्रालयका अनुसार अब कर्मचारीहरूले सामान्य स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता घट्नेछ, किनभने आधारभूत स्वास्थ्य सेवा कार्यस्थलमै उपलब्ध हुनेछ।
निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालयमै सेवा इकाइ स्थापना गरिएको बताइएको छ।
उक्त सेवा इकाइमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ।







प्रतिक्रिया दिनुहोस्