वीरगञ्ज मेन रोड विस्तार समस्या समाधानबारे रवि लामिछानेसँग छलफल

काठमाडौं, १८ असार । वीरगञ्ज शहरको मुख्य सडक विस्तारसम्बन्धी अन्योलताबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल भएको छ।

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तसहित वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको टोलीले बिहीबार लामिछानेसँग भेट गरी सडक विस्तारका कारण उत्पन्न समस्या र उद्योगी–व्यवसायीले भोगिरहेका कठिनाइबारे जानकारी गराएको हो।

लामिछाने निवासमा भएको छलफलमा मेन रोड विस्तार, बजार क्षेत्रको संरचना भत्काइएपछि उत्पन्न अवस्था तथा स्थानीय व्यवसाय सञ्चालनमा परेको असरबारे विस्तृत रूपमा छलफल गरिएको सांसद पन्तले बताए।

उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज र हेटौंडा बजारमा सडक विस्तार मापदण्डमा देखिएको भिन्नताप्रति असन्तुष्टि जनाएका थिए। साथै, विभिन्न सरकारी निर्णय र अदालतको फैसलाबीच समन्वय नहुँदा थप अन्योलता बढेको उनीहरूको भनाइ थियो।

सांसद पन्तले यस विषयमा सभापति लामिछानेलाई जानकारी गराउँदै सम्बन्धित मन्त्रीलाई बोलाएर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।

छलफलपछि सभापति लामिछानेले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी समस्या समाधानतर्फ आवश्यक पहल गर्ने आश्वासन दिएको सांसद पन्तले जानकारी दिए।

सडक विस्तारका क्रममा अढाइ महिनाअघि डोजर लगाएर संरचना हटाइएपछि वीरगञ्ज बजार क्षेत्रमा अझै अन्योलता कायम रहेको छ। भत्किएका संरचना नहटाइँदा बजार अस्तव्यस्त बनेको र व्यवसाय सञ्चालनसमेत जोखिमपूर्ण बनेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्