युवामा लगानी नगरे राष्ट्रको भविष्य कमजोर हुन्छ : राष्ट्रियसभा सदस्य श्रेष्ठ
काठमाडौं, १८ असार । राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले युवा वर्ग कुनै पनि राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएकाले उनीहरूमा पर्याप्त लगानी गर्न नसके राष्ट्रको भविष्य कमजोर हुने बताएका छन्।
बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै श्रेष्ठले युवा राष्ट्रको ऊर्जा, साहस, परिवर्तन र विकासको प्रमुख आधार भएको उल्लेख गरे।
उनले विश्वका धेरै मुलुकले युवालाई विकासको मुख्य आधारका रूपमा लिएर उल्लेखनीय प्रगति गरिरहेको भए पनि नेपालका युवाहरू भने बेरोजगारीका कारण विदेशिन बाध्य भएको बताए।
श्रेष्ठले गाउँका खेतबारी बाँझो हुँदै गएको, उद्योगमा दक्ष जनशक्तिको अभाव रहेको तथा मुलुकको अर्थतन्त्र विप्रेषणमा निर्भर बन्दै गएको उल्लेख गर्दै युवालाई स्वदेशमै सम्मानजनक रोजगारी उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
उनले सरकारले शिक्षालाई प्राथमिकतामा राखेको दाबी गरे पनि त्यसअनुसार पर्याप्त बजेट विनियोजन हुन नसकेको टिप्पणी गरे।
सांसद श्रेष्ठले युवाको क्षमता विकास, रोजगारी सिर्जना र शिक्षामा प्रभावकारी लगानीमार्फत मात्रै मुलुकको दीर्घकालीन विकास सम्भव हुने बताए।







प्रतिक्रिया दिनुहोस्