सहकारी विधेयक पीडित बचतकर्ताको हितमा केन्द्रित हुनुपर्छ : पद्मा अर्याल

काठमाडौं, १८ असार । नेकपा एमालेकी उपनेता पद्मा अर्यालले सहकारी पीडित बचतकर्ताको हित सुनिश्चित हुने गरी सहकारी (पहिलो संशोधन) विधेयकलाई परिमार्जन गर्न सरकारसँग आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलमा बोल्दै अर्यालले सहकारी संस्थाको रकम आफन्तको नाममा रहेको आधारमा मात्र कारबाही गर्न नहुने बताइन्।

उनले घटनामा संलग्नता स्पष्ट रूपमा प्रमाणित भएपछि मात्रै सञ्चालक, कर्मचारी वा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही हुने व्यवस्था गर्नुपर्ने धारणा राखिन्।

अर्यालका अनुसार सहकारी संस्थाका सञ्चालक वा कर्मचारीले पदीय पहुँचको दुरुपयोग गरी बचतकर्ताको रकम अन्यत्र सार्ने तथा सम्पत्ति लुकाउने प्रवृत्ति देखिएकाले त्यस्ता कार्यमा संलग्न रहेको प्रमाणित भएमा आफन्त वा नातेदारमाथि पनि कानुनी कारबाही गर्न सकिने व्यवस्था आवश्यक छ।

उनले निर्दोष व्यक्तिको अधिकार संरक्षण र पीडित बचतकर्ताको हितबीच सन्तुलन कायम हुने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

अर्यालले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्ने गरी विधेयकका कमजोरी सुधार्न र प्रभावकारी कानुनी व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्