फिफाद्वारा एन्फा निलम्बनमा विगतका सरकारी हस्तक्षेप जिम्मेवार : सरकार

काठमाडौं, १८ असार । सरकारले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको विषय वर्तमान सरकारको हस्तक्षेपका कारण मात्र नभएको स्पष्ट गरेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले विगतका विभिन्न सरकारबाट पटक–पटक भएको हस्तक्षेपका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे।

मन्त्री पोखरेलले एन्फासम्बन्धी भ्रष्टाचारका धेरै उजुरी प्राप्त भएकाले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरिएको जानकारी दिए। छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाएर कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

उनले नेपाली फुटबल अब थप ओरालो लाग्ने अवस्था नरहेको उल्लेख गर्दै वर्तमान सरकार फुटबल क्षेत्रको सुधार र विकासका लागि प्रतिबद्ध रहेको बताए।

मन्त्री पोखरेलले एन्फाका पदाधिकारीहरू विश्वकप हेर्न जानुभन्दा पहिले नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्नुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार फिफा र एसियाली फुटबल महासंघका पदाधिकारीलाई वार्ताका लागि नेपाल आउन आग्रह गरिएको छ। उनीहरू आएपछि समस्याको समाधानका लागि विस्तृत छलफल गरिने सरकारको तयारी छ।

सरकारले अबको एन्फा नेतृत्व राजनीतिक भागबण्डाका आधारमा नभई नेपाली फुटबलमा योगदान दिएका पूर्वखेलाडी, फुटबलप्रेमी र खेल क्षेत्रको अनुभव भएका व्यक्तिबाट चयन हुने वातावरण बनाउन चाहेको मन्त्री पोखरेलले बताए।

फिफाको निर्णयप्रति दुःख व्यक्त गर्दै उनले एन्फालाई राजनीतिक हस्तक्षेप र भ्रष्टाचारबाट मुक्त बनाई पारदर्शी तथा उत्तरदायी संस्थाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्