मन्त्रिपरिषद्का निर्णय : ८ एआईजीको सरुवा, राष्ट्रिय सदाचार नीति र विज्ञापन नीति स्वीकृत

काठमाडौं, १८ असार । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न नियुक्ति, नीति तथा विधेयकसँग सम्बन्धित निर्णयहरू पनि भएको जानकारी दिए।

सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ।

त्यस्तै, कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा दशौँ संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बैठकले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्न पनि स्वीकृति प्रदान गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्