लागुऔषध नियन्त्रणमा सरकार असफल भएको सांसद पुरुषोत्तम यादवको आरोप
काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले देशमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै सांसद यादवले देशका युवा लागुऔषधको दलदलमा फस्दै गएको अवस्थामा पनि सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।
उनले सिराहा जिल्लामा मात्रै पछिल्ला १६ दिनमा लागुऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै १२ जना पक्राउ परेको, ४१ किलोग्राम गाँजा तथा १०९ ग्राम खैरो हेरोइन बरामद भएको बताए।
सांसद यादवले एक जिल्लाको तथ्यांकले नै देशभर लागुऔषधको समस्या गम्भीर बन्दै गएको संकेत गर्ने उल्लेख गरे।
उनले राज्य व्यवस्था तथा सुशासन समितिमा पनि यस विषयमा ध्यानाकर्षण गराइसकेको बताउँदै सरकारले लागुऔषध नियन्त्रण र युवाको संरक्षणका लागि स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग गरे।







प्रतिक्रिया दिनुहोस्