दुई तिहाइको आडमा सरकार मनपरी ढंगले अघि बढ्न खोजेको ज्ञवालीको आरोप
काठमाडौं, १७ असार ।नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले दुई तिहाइ बहुमतको आडमा सरकार मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसविरुद्ध समयमै खबरदारी आवश्यक रहेको बताएका छन्।
पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान तथा लोकतान्त्रिक व्यवस्थामाथि चुनौती सिर्जना गर्न सक्ने टिप्पणी गरे।
ज्ञवालीले सत्तारूढ पक्षबाट संघीयता खारेज गर्ने विषय उठाइएको उल्लेख गर्दै सरकारको नियत संविधान नै समाप्त पार्ने दिशातर्फ गएको हो कि भन्ने आशंका बढ्दै गएको बताए।
उनले प्रधानमन्त्री र सरकारले आफूखुसी निर्णय गर्न पाउने सोचको विकास हुनु लोकतन्त्रका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिहरू यसप्रति सजग हुनुपर्ने धारणा राखे।
उनका अनुसार वर्तमान परिस्थितिले मुलुक निर्वाचित तानाशाहीतर्फ उन्मुख हुन सक्ने आशंका समेत जन्माएको छ। यद्यपि आफूले त्यस्तो अवस्था आइसकेको भन्न नखोजेको स्पष्ट पार्दै उनले परिस्थितिले त्यतातर्फ संकेत गरिरहेको अनुभूति धेरैले गरिरहेको बताए।
ज्ञवालीले लोकतान्त्रिक मूल्य, संविधान र संघीय व्यवस्थाको संरक्षणका लागि सबै पक्षले आवश्यक विषयमा निरन्तर छलफल गर्दै खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए।







प्रतिक्रिया दिनुहोस्