जनसम्पर्क समितिको अधिवेशन निर्वाचन समिति प्रतिनिधिको उपस्थितिमै गर्न कांग्रेसको निर्देशन
काठमाडौं, १७ असार । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र अधिवेशन गर्न निर्देशन दिएको छ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र समितिले खटाएको प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन सम्पन्न गर्न परिपत्र गर्ने निर्णय गरेको हो।
बैठकपछि सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा अधिवेशनको सम्पूर्ण प्रक्रिया पार्टीको विधानअनुसार सञ्चालन गर्न विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई निर्देशन दिइएको उल्लेख छ।
नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन साउन मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ।
पार्टीको विधान २०७४ (संशोधनसहित) को धारा १४ को उपधारा (३) अनुसार जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन समितिका अनुसार विदेशस्थित जनसम्पर्क समितिहरूले निर्वाचन प्रक्रियाअघि अनिवार्य रूपमा सदस्यताको विवरण पार्टी केन्द्रमा पठाई सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति लिनुपर्नेछ। त्यसपछि मात्र निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने व्यवस्था रहेको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्