सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड
काठमाडौं, १७ असार । नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिखले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधबार भएको भेटमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरेबियाको शुरा परिषद्सँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको बताए। उनले सङ्घीय संसद्को निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै यसले दुवै देशका संसदबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले श्रम आप्रवासनको क्षेत्रमा नेपाल र साउदी अरेबियाबीच बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्यमध्ये एक रहेको उल्लेख गरे।
उनले आगामी चैत २०८३ (मार्च २०२७) मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी भइरहेको जानकारी दिँदै यस अवसरलाई दुवै देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने गरी अर्थपूर्ण कार्यक्रममार्फत मनाउने अपेक्षा व्यक्त गरे।
सभामुख अर्यालले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका प्राथमिकताका क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी र सहकार्यको अपेक्षा रहेको बताए। साथै नेपालको प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र आतिथ्यताका कारण नेपाल साउदी नागरिकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा पनि राखे।
भेटका क्रममा राजदूत मनिखले नेपालसँगको सम्बन्धलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा थप सहकार्य गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताए।
नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा दूतावास स्थापना गरेको हो। हाल साउदी अरेबियामा करिब तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन्।







प्रतिक्रिया दिनुहोस्