रास्वपाले गठन गर्‍यो निर्वाचन, लेखा र अनुशासन आयोग

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकबाट पार्टीका निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदित विधानअनुसार तीनवटै आयोग गठन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री विपिन आचार्य ले जानकारी दिए।

उनका अनुसार निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघि जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पुनः जिम्मेवारी दिइएको छ।

त्यस्तै, अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल लाई मनोनयन गरिएको छ। पौडेल उच्च अदालत कास्कीका पूर्वन्यायाधीश हुन्।

महामन्त्री आचार्यका अनुसार बैठकमा अन्य पदाधिकारीको मनोनयनबारे कुनै छलफल भएको छैन। बाँकी पदाधिकारीको नियुक्ति पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारीअनुसार आगामी बैठकबाट निर्णय गरिने उनले बताए।

बैठकले रास्वपाको पहिलो महाधिवेशन सफल बनाउन सहयोग गर्ने तत्कालीन पदाधिकारी, महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा सुरक्षाकर्मी लगायत सबैप्रति धन्यवाद प्रस्तावसमेत पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्