मधेश प्रदेश सभामा बजेट विवाद, प्रतिपक्षद्वारा बैठक अवरुद्ध

काठमाडौं, १७ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।

बुधबार बजेटमाथि छलफलका लागि बसेको बैठकको सुरुमै उपेन्द्र महतो नेतृत्वको पक्षले बजेट वितरणमा असमानता भएको र जनताको अपेक्षा विपरीत रहेको आरोप लगाउँदै संशोधनको माग राखेको हो।

प्रतिपक्षी दलहरूले एक करोडभन्दा कमका योजना नराख्ने भनिए पनि ५ लाखसम्मका साना योजनाहरू समावेश गरिएको भन्दै सरकारमाथि जनतालाई ठगेको आरोप लगाए। उनीहरूले बजेट मन्त्रालयमुखी भएको र सबै जिल्लामा समान रूपमा विनियोजन नभएको दाबी गर्दै तत्काल संशोधन आवश्यक रहेको बताए।

जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका सांसदहरूले माग पूरा नभएसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख रामअशिष यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

बजेट विवादका कारण प्रदेश सभाको छलफल प्रक्रिया प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्