मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेनाबीच सहमति नभएको सरकारको स्पष्टोक्ति

काठमाडौं, १७ असार । नेपालको मुस्ताङमा कथित रूपमा युरेनियम उत्खननसम्बन्धी नेपाल र अमेरिकी सेनाबीच सहमति भएको भन्ने चर्चा असत्य रहेको सरकारले स्पष्ट पारेको छ।

राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले नेपाली सेना र अमेरिकी सेनाबीच युरेनियम उत्खनन गर्ने सहमति भएको दाबीबारे प्रश्न उठाएका थिए। उनले मुस्ताङमा ठूलो परिमाणमा युरेनियम रहेको र त्यसको उत्खननका लागि सहमति भएको भन्ने सार्वजनिक समाचारको वास्तविकता के हो भनेर जिज्ञासा राखेका थिए।

त्यसको जवाफमा परराष्ट्र मन्त्री शिशिर खनालले त्यस्तो कुनै सम्झौता वा सहमति नभएको स्पष्ट पारे। उनले मुस्ताङमा युरेनियम उत्खनन गर्न नेपाल र अमेरिकी सेनाबीच कुनै पनि प्रकारको सहमति भएको भन्ने दाबीमा सत्यता नभएको बताए।

मन्त्री खनालका अनुसार केही डिजिटल मिडियामा आएका आधारहीन दाबीलाई सम्बन्धित सरकारी निकायहरूले पहिले नै खण्डन गरिसकेका छन्। उनले यस्तो विषयमा कुनै आधिकारिक सम्झौता वा प्रक्रिया अघि नबढाइएको पनि स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्