संसदीय सुनुवाइमा पारदर्शिता बढाउन प्रस्तावित विवरण सार्वजनिक गर्नुपर्ने पद्मा अर्यालको जोड

काठमाडौं, १७ असार । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइ प्रक्रियामा पारदर्शिता बढाउन प्रस्तावित व्यक्तिको विवरण समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन्।

बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइसम्बन्धी आन्तरिक तयारीबारे भएको छलफलका क्रममा उनले विवरण समितिभित्र मात्रै सीमित नराखी सार्वजनिक गर्नुपर्ने धारणा राखिन्।

उनका अनुसार प्रस्तावित व्यक्तिको विवरण सार्वजनिक गर्दा सर्वसाधारणबाट थप सुझाव र प्रतिक्रिया प्राप्त हुने र सुनुवाइ प्रक्रिया अझ विश्वसनीय बन्नेछ।

अर्यालले संसदीय सुनुवाइलाई औपचारिकतामा सीमित नराखी जनविश्वास बढाउने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। हालको अभ्यासले पर्याप्त जनविश्वास हासिल गर्न नसकेको उनको टिप्पणी थियो।

उनले समितिले अन्तर्राष्ट्रिय असल अभ्यास अध्ययन गर्दै कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्। साथै, विज्ञहरूको सहभागितामा समिति सदस्यका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि दिइन्।

बैठकमा बोल्दै उनले भनिन्, “सुनुवाइलाई औपचारिकतामा सीमित राख्ने कि यसको फरक पहिचान गराउने भन्ने विषयमा हामीले राम्रो छलफल गर्नुपर्छ।”

उनले थपिन्, “जुन व्यक्तिको सुनुवाइ गरिन्छ, उसको विवरण पहिले नै सार्वजनिक गरिदिऊँ, हतारमा सीमित समयभित्र मात्र प्रक्रिया पूरा गर्ने अभ्यास बन्द गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्