सांसदका प्रश्नको सदनमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रूलिङ
काठमाडौं, १७ असार । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले सदनमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीहरूले अनिवार्य रूपमा सदनमै दिनुपर्ने भन्दै सरकारलाई रूलिङ गरेका छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयका दौरान सांसदहरूले उठाएका जनसरोकारका विषयमा मन्त्रीहरू उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्।
राष्ट्रिय सभाका सदस्यहरूले विभिन्न समयमा उठाएका प्रश्न तथा समसामयिक विषयमा सरकारबाट समयमै जवाफ नआएको भन्दै निरन्तर गुनासो गर्दै आएका थिए।
अध्यक्ष दाहालले रोस्ट्रमबाट भने, “राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै मन्त्रीहरूलाई निर्देश गर्दछु।”
उनको रूलिङपछि अब सदनमा उठाइएका विषयमा सरकारको जवाफदेहिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया दिनुहोस्