क्रियाशील सदस्यता अद्यावधिक गर्न राठोरको आह्वान, कांग्रेस नछाड्ने अडान
काठमाडौं, १७ असार । नेपाली कांग्रेसको देउवा–शेखर कोइराला पक्षले दाङको लमहीमा मंगलबार आयोजना गरेको प्रदेश भेलामा पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले आफू क्रियाशील सदस्यता अद्यावधिक गर्ने र अन्य नेता–कार्यकर्तालाई पनि त्यसका लागि आग्रह गर्ने बताएका छन्। क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडान रहेको संस्थापनइतर पक्षको भेलामै राठोरको यस्तो अभिव्यक्तिपछि सहभागीहरूबीच चर्चा भएको थियो।
भेलालाई सम्बोधन गर्दै राठोरले पार्टीभित्र मतभेद हुन सक्ने भए पनि कांग्रेस नछाड्ने स्पष्ट पारे। उनले आफूले नेपाली कांग्रेस र चारतारे झण्डा तथा रूख चुनाव चिह्न नत्याग्ने भन्दै पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने धारणा राखे।
उनले नेता पूर्णबहादुर खड्कासँग भएको संवाद उल्लेख गर्दै पार्टी विभाजनतर्फ आफू नलाग्ने बताए। “पार्टीभित्र फरक मत हुन सक्छ, तर त्यहीँ बसेर लड्ने हो,” उनले भने।
राठोरले आफूले २०४६ सालदेखि गुटीय राजनीतिमा सक्रिय भूमिका खेलेको स्मरण गर्दै संस्थापन गुमेपछि पार्टी छाड्ने पक्षमा नरहेको बताए। उनले क्रियाशील सदस्यता अद्यावधिक आफूले पनि गर्ने र अरूलाई पनि गर्न आग्रह गर्ने जानकारी दिए। उनले मीनेन्द्र रिजालले सदस्यता अद्यावधिक गरिसकेको र दीपक गिरीले पनि यसबारे आफूलाई सम्पर्क गरेको उल्लेख गरे।
उनले पछिल्लो समय पार्टीभित्रको विवादले अन्याय भएको महसुस भए पनि समाधानको बाटो पार्टीभित्रै खोज्नुपर्ने धारणा व्यक्त गरे। नयाँ पार्टी गठन गर्ने सम्भावना अस्वीकार गर्दै उनले भने, “सके राजनीति गर्छु, नसके आलु खेती गर्छु, तर कांग्रेस छाड्दिनँ।”
राठोरले विगतमा सुशील कोइराला, खुमबहादुर खड्कालगायत नेतासँग पनि पार्टीभित्रै संघर्ष गरेको उल्लेख गर्दै अब पनि कांग्रेसमै रहेर संघर्ष जारी राख्ने बताए। उनले पार्टी छाड्नेभन्दा संगठन बलियो बनाउन र चुनावमा रूख चिह्नलाई जिताउन सबैलाई आग्रह गरे।







प्रतिक्रिया दिनुहोस्