तोडफोड र हिंसालाई वैधानिकता दिइयो : केपी शर्मा ओली
काठमाडौं, १६ असार । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको समग्र अवस्था कमजोर बन्दै गएको र त्यसको असर खेलकुदसहित सबै क्षेत्रमा परेको बताए।
ओलीले आफू नेतृत्वको सरकारले भूकम्प, महामारी र आर्थिक चुनौतीका बीच पनि शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रलाई अघि बढाउने प्रयास गरेको दाबी गरे। तर, ती प्रयासलाई असफल बनाउन असंवैधानिक गतिविधिमार्फत सरकार परिवर्तन गरिएको आरोप उनले लगाए।
उनका अनुसार संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि तोडफोड, हिंसा, आगजनी र लुटपाटका गतिविधिलाई आधार बनाएर सरकार ढाल्ने प्रयास गरिएको र त्यसलाई वैधानिकता दिइएको छ।
ओलीले देशलाई पुनः शान्तिपूर्ण, भयमुक्त र न्यायपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै नागरिकले न्याय पाउने व्यवस्था स्थापना गर्ने दाबी गरे।
उनले खेलाडी तथा नागरिकमा देशभक्तिको भावना बलियो हुनुपर्ने उल्लेख गर्दै राष्ट्रको समग्र विकासबिना खेलकुद क्षेत्रको पनि अपेक्षित प्रगति सम्भव नहुने धारणा राखे।







प्रतिक्रिया दिनुहोस्