संघीयतामाथि आक्रमणको प्रयास भइरहेको सांसद आरेन राईको आरोप
काठमाडौं, १६ असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पछिल्लो समय संघीय व्यवस्थामाथि आक्रमण गर्ने खालको चिन्तन सतहमा देखिन थालेको बताएका छन्।
फेडरलिजम एण्ड लोकलाइजेशन सेन्टरले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनमा प्रदेश संरचना’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले संघीयता लामो जनसंघर्ष र नागरिकको बलिदानबाट प्राप्त भएको उपलब्धि भएकाले यसमाथि प्रश्न उठाउनु उचित नहुने बताए।
राईले संघीयताको पक्षमा आफ्नो पार्टी चट्टानझैँ उभिने स्पष्ट गर्दै संघीय व्यवस्था आवश्यक हुनुका चार प्रमुख आधार प्रस्तुत गरे।
उनका अनुसार पहिलो आधार सन्तुलित विकास र बजेट विनियोजन हो। विगतको केन्द्रीकृत शासन व्यवस्थाले शहरी क्षेत्रमा मात्रै विकास केन्द्रित गर्दा गाउँ, पहाड र हिमाली क्षेत्र विकासबाट पछाडि परेको भन्दै उनले संघीयतामार्फत स्रोत–साधनको सन्तुलित वितरण सम्भव भएको बताए।
दोस्रो आधारका रूपमा उनले नेपालको भाषिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचानको संरक्षणलाई उल्लेख गरे। विविधतायुक्त मुलुकको मौलिक पहिचान जोगाउन संघीय व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
तेस्रो आधार सेवा प्रवाहलाई बनाउँदै उनले संघीयताले नागरिकलाई नजिकबाट छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुगेको बताए। पहिले सामान्य सरकारी सेवा लिन पनि काठमाडौं धाउनुपर्ने अवस्था अहिले धेरै हदसम्म अन्त्य भएको उनको दाबी थियो।
चौथो आधारका रूपमा उनले संघीयता खर्चिलो भएको भन्ने धारणा गलत रहेको बताए। संघीयतामाथि अनावश्यक आरोप लगाइएको उल्लेख गर्दै उनले प्रदेशसभा सदस्यको संख्याबारे छलफल हुन सक्ने भए पनि संघीय व्यवस्थामाथि नै प्रश्न उठाउनु ऐतिहासिक उपलब्धिको अपमान हुने टिप्पणी गरे।
राईले संघीयताको कार्यान्वयनमा कमजोरी हुन सक्ने स्वीकार गर्दै समस्या व्यवस्थामा रहेको, संघीयतामा नभएको बताए। उनले संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रमाथि हस्तक्षेप गर्ने प्रयास भए त्यसले पुनः आन्दोलन र सामाजिक द्वन्द्व निम्त्याउन सक्ने चेतावनीसमेत दिए।
उनले सबै नागरिकले राज्य आफ्नै भएको अनुभूति गर्न सके मात्र संघीय व्यवस्थाले पूर्ण सफलता पाउने धारणा व्यक्त गरे।







प्रतिक्रिया दिनुहोस्