विदेशमा आवासीय अनुमति लिई अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग
काठमाडौं, १६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएको भन्दै उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
सूचनाअनुसार ती कर्मचारीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति तथा डाइभर्सिटी भिसा (डीभी) समेत लिएको पाइएको छ।
निजामती सेवा ऐनअनुसार कर्मचारीले पदमा रहँदा विदेशी मुलुकको आवासीय अनुमति लिन नपाइने व्यवस्था छ। साथै, बिदा समाप्त भएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने नियमको समेत उल्लङ्घन भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उनीहरूलाई १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। स्पष्टीकरणपछि भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने सम्भावना रहेको बताइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताएकी छन्।
मन्त्रालयले विदेशमा बसोबास गर्ने तथा लामो समयदेखि सम्पर्कविहीन अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन र खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्