सरकारी हस्तक्षेपका कारण एन्फा निलम्बन भएको केपी शर्मा ओलीको आरोप
काठमाडौं, १६ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको आरोप लगाएका छन्।
नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रमा सरकारी हस्तक्षेप रोक्न पार्टीपंक्तिलाई निर्देशन पनि दिए।
ओलीले एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्धले खेलाडीहरूको मनोबल कमजोर नबनाउन सबैलाई आग्रह गरे।
उनले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै ‘जरैदेखि सुधार’ आवश्यक रहेको धारणा राखे।
उनका अनुसार खेलकुद क्षेत्रको विकासमार्फत देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाउन सकिन्छ र त्यसका लागि समन्वित प्रयास आवश्यक छ।
ओलीले आफू नेतृत्वको सरकारका पालामा खेलकुद क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी पनि गरेका छन्।







प्रतिक्रिया दिनुहोस्