हुलाक सेवालाई निजी क्षेत्रसँग सहकार्यमा अघि बढाइने : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं, १६ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाउने योजना बनाएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्र प्रभावकारी सेवा प्रवाह सम्भव हुने धारणा राखे।

मन्त्री तिमिल्सिनाले हुलाक सेवाको नीति तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै सेवा प्रभावकारिता बढाउन व्यापक पुनर्संरचना गर्नुपर्ने बताए। उनले हुलाक सेवासम्बन्धी नीतिगत सुधार, संरचनागत परिवर्तन र कार्यक्षमता वृद्धि सरकारको प्राथमिकतामा रहेको जानकारी दिए।

उनका अनुसार सरकारले सय दिनको कार्ययोजनाअन्तर्गत हुलाक सेवासम्बन्धी केही सुधारका काम अघि बढाएको छ र आगामी वर्ष थप सुधारात्मक कदम चालिनेछ।

मन्त्री तिमिल्सिनाले सरकारी हुलाक सेवाले मात्र सम्पूर्ण पोस्टल सेवा प्रभावकारी बनाउन नसकिने भन्दै निजी क्षेत्रसँगको सहकार्य अनिवार्य भएको स्पष्ट पारे। उनले सरोकारवालाका समस्या समाधानमा सरकार सहजीकरण गर्न तयार रहेको पनि बताए।

त्यस अवसरमा उनले हुलाक सेवामा संलग्न कर्मचारीलाई सेवा सुधार र आधुनिकीकरणमा सक्रिय भूमिका खेल्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्