स्थानीय तहको बजेट तर्जुमा सुधार्न तीन सहसचिव नेतृत्वको टोली परिचालन

काठमाडौं, १६ असार । सरकारले स्थानीय तहको बजेट तर्जुमा प्रक्रिया प्रभावकारी र व्यवस्थित बनाउन तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरेको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले टोलीमार्फत स्थलगत सहजीकरण तथा समन्वयको काम भइरहेको जानकारी दिएकी हुन्।

उनका अनुसार टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको छ।

मन्त्री रावलले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन मन्त्रालयले पहल जारी राख्ने बताइन्।

यसैबीच, मन्त्री रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधानका विषयमा छलफल भएको छ।

छलफलमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचार–विमर्श भएको बताइएको छ।

मुख्यमन्त्री यादवले स्थानीय तहका समस्या समाधानका लागि प्रदेश सरकार आवश्यक पहल गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्