काठमाडौं, १६ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

६८औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।

मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने धारणा राखिन्।

उनका अनुसार प्रक्रियागत र प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाट टुङ्ग्याउन सकिन्छ र संसदको समय जनसरोकारका विषयमा मात्र खर्चिनुपर्छ।

जनताले तिरेको करबाट राज्य सञ्चालन हुने भएकाले सांसदहरूले पाउने एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री गौतमले संसदमा बोलिने भाषा, शब्द चयन र पोशाकसमेत मर्यादित हुनुपर्ने उल्लेख गर्दै व्यक्तिगत आचरण सुधार नगरेसम्म संसदको गरिमा कायम राख्न नसकिने बताइन्।

उनले संसदप्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन सबै सांसद जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै आफू पनि यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस्