रास्वपाले केन्द्रीय सदस्य निर्वाचन सूची सच्यायो, दुई सदस्यको नतिजा परिवर्तन

काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य निर्वाचनको नतिजा सच्याउँदै आधिकारिक सूची संशोधन गरेको छ।

सच्याइएको सूचीअनुसार जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बाँस्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको छ।

यसअघि आफूभन्दा कम मत ल्याएका व्यक्तिलाई विजयी घोषणा गरिएको भन्दै उनीहरूले पार्टी निर्वाचन आयोगमा उजुरी दिएका थिए। उजुरीपछि असार १२ गते बसेको आयोगको बैठकले मत परिणाम र कागजातको पुनः अध्ययन गर्दै त्रुटि भएको निष्कर्ष निकालेको हो।

आयोगको निर्णयअनुसार कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हट्दै थापा मगर र बाँस्तोलालाई विजयी घोषणा गरिएको छ।

महाधिवेशन निर्वाचन कार्यविधि २०८२ अनुसार ३८४ उम्मेदवारमध्ये ९९ केन्द्रीय सदस्य चयन गरिएको थियो। सबै उम्मेदवारका मत सार्वजनिक गरिए पनि अन्तिम सूचीमा भएको त्रुटि उजुरीपछि सच्याइएको हो।

प्रतिक्रिया दिनुहोस्