शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता हो : भीष्मराज आङदेम्बे

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोखिममा पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।

आङदेम्बेले नेतृत्वको अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न शासकीय संरचनामाथि प्रश्न उठाउने प्रवृत्ति देखिएको टिप्पणी गरे। उनले सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई आवेग वा उत्तेजनाका आधारमा कमजोर बनाउन नहुने चेतावनी दिए।

‘हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपलाई थोपर्न थालिएको छ,’ उनले भने, ‘अभ्यास नै नगरिकन प्रश्न उठाउनु गलत हो।’

उनले संघीय संरचनालाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्ने काम नगर्न सबैलाई आग्रह गरे।

संसद् दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी देश र जनताप्रतिको प्रतिबद्धता सुदृढ गर्ने अवसरका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्