सरकार किसानका समस्याप्रति अनुदार छ : प्रदीप पौडेल

काठमाडौं, १६ असार । प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुम्बासीका समस्याप्रति अनुदार रहेको आरोप लगाएका छन्।

रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बजेटमार्फत किसानका समस्या समाधानका लागि आवश्यक कार्यक्रम र योजना समावेश नगरेको बताएका हुन्।

उनले किसानहरूले अथक मेहनतमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि समयमै मल र गुणस्तरीय बीउबिजन उपलब्ध नहुँदा आफ्नो क्षमता तथा माटोको गुणस्तरअनुसार उत्पादन गर्न नसकेको उल्लेख गरे।

पौडेलले किसानका वास्तविक समस्याप्रति सरकार संवेदनशील नदेखिएको दाबी गर्दै कृषि क्षेत्र निरन्तर कमजोर बन्दै गएको बताए। साथै, जलवायु परिवर्तनको असर कृषकमाथि बढ्दै गएको उल्लेख गर्दै राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

उनले किसानको उत्पादन वृद्धि, कृषि सामग्रीको सहज उपलब्धता र कृषि क्षेत्रको संरक्षणका लागि सरकारले प्रभावकारी नीति तथा कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्