राष्ट्रिय सभामा उठ्यो प्रधानमन्त्रीका सल्लाहकारको भूमिका सम्बन्धी विषय, सरकारसँग मागियो स्पष्टिकरण
काठमााडौं, १५ असार । राष्ट्रिय सभामा प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिकालाई लिएर सरकारसँग स्पष्टिकरण माग गरिएको छ। प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरूले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिएको भन्ने सार्वजनिक चर्चाप्रति सरकारको धारणा माग गरेका हुन्।
सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले प्रधानमन्त्रीका सल्लाहकारहरूको अधिकार र जिम्मेवारीबारे प्रश्न उठाए। उनले सल्लाहकारहरू प्रधानमन्त्रीलाई नीति तथा विषयगत परामर्श दिन नियुक्त गरिने भए पनि संवैधानिक निकायका पदाधिकारीलाई निर्देशन दिने अधिकार कसले दिएको भन्ने विषयमा सरकारको जवाफ आवश्यक रहेको बताए।
सांसद पोर्तेलले सार्वजनिक रूपमा आएका दाबीहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै यस्ता विषयले राज्यका संवैधानिक संस्थाप्रति जनविश्वासमा असर पर्न सक्ने टिप्पणी गरे।
उनले प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरूको भूमिकाबारे संसदलाई जानकारी गराउन तथा आवश्यक भए स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।
यस विषयमा प्रधानमन्त्री कार्यालय वा सम्बन्धित पक्षबाट भने तत्काल कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।







प्रतिक्रिया दिनुहोस्