पुटिनको स्वीकारोक्ति : युक्रेनी ड्रोन आक्रमणपछि रूसमा इन्धन आपूर्तिमा समस्या

काठमााडौं, १५ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले पछिल्लो समय तीव्र बनाएको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसको इन्धन पूर्वाधार प्रभावित भएको र केही क्षेत्रमा इन्धन आपूर्तिमा समस्या देखिएको स्वीकार गरेका छन्।

आइतबार प्रसारित सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिनले युक्रेनी आक्रमणले तेल प्रशोधन केन्द्रहरूमा क्षति पुर्‍याएको स्वीकार गर्दै त्यसले इन्धन आपूर्तिमा चुनौती थपेको बताए। यद्यपि उनले समस्या गम्भीर नभएको दाबी गर्दै आपूर्ति प्रणालीलाई सामान्य अवस्थामा फर्काउन सरकार सक्रिय रहेको उल्लेख गरे।

पछिल्ला महिनाहरूमा युक्रेनले रूसका विभिन्न तेल प्रशोधन केन्द्र र ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमण तीव्र पारेको छ। ती आक्रमणका कारण केही क्षेत्रमा पेट्रोल वितरणमा सीमित कोटा लागू गर्न रूस बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्लेषकहरूका अनुसार युक्रेनले स्वदेशमै विकसित ड्रोन प्रविधिको प्रयोग गर्दै मस्कोदेखि उराल पर्वत क्षेत्रसम्म रहेका रूसी ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको छ। युक्रेनले सन् २०१४ मा रूसद्वारा कब्जा गरिएको क्राइमिया क्षेत्रमा पनि ड्रोन आक्रमण विस्तार गरेको छ।

युद्धमैदानमा रूसको प्रगति सुस्त भइरहेका बेला युक्रेनले ऊर्जा पूर्वाधारलाई लक्षित रणनीति अपनाएको देखिएको छ। यसले रूसको इन्धन उत्पादन र आपूर्ति प्रणालीमा दबाब बढाएको विश्लेषण गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्