सभामुख अर्यालको सांसदलाई निर्देशन: ‘जनताको मूल्यांकनमा अब्बल बन्नुस्, मोबाइल र गफगाफमा समय नबिताउनुस्’

काठमााडौं, १५ असार ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिलाई आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै जिम्मेवार, अनुशासित र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसद लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरू जनताको मतबाट निर्वाचित जिम्मेवार प्रतिनिधि भएकाले उनीहरूको व्यवहार, प्रस्तुति र कार्यशैलीप्रति नागरिकको चासो रहने बताए।

उनले सांसदहरूको मूल्यांकन अब केवल पार्टी नेतृत्व वा सरकार प्रमुखले मात्र नभई आम नागरिकले गरिरहेको उल्लेख गर्दै राम्रो कानुन निर्माण, सभ्य व्यवहार र प्रभावकारी प्रस्तुति मार्फत जनताको विश्वास जित्न स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा अपेक्षाअनुसार सांसदहरूको समयमै उपस्थिति नभएको भन्दै सभामुख अर्यालले असन्तुष्टि व्यक्त गरे। बिहान १० बजे सुरु भएको कार्यक्रममा न्यून र ढिलो उपस्थितिले अनुशासनमा थप ध्यान दिनुपर्ने संकेत गरेको उनको भनाइ थियो।

नवनिर्वाचित सांसदहरू संसदीय प्रक्रिया र अभ्यासमा अझ अभ्यस्त हुन अभिमुखीकरण कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै उनले प्रशिक्षणका क्रममा मोबाइल प्रयोगमा अत्यधिक समय नबिताउन, आपसी गफगाफ नगर्न र सिकाइमा केन्द्रित हुन आग्रह गरे।

‘समय र स्रोत खर्च गरेर कार्यक्रममा सहभागी भएपछि केही नयाँ कुरा सिकेर जानुहोस्,’ उनले भने, ‘यस दुई दिने सिकाइको प्रभाव आगामी प्रतिनिधिसभा बैठकमा देखिनुपर्छ, जसको मूल्यांकन संसद् सचिवालयसँगै सबैभन्दा बढी मतदाताले गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्