एमाले–नेकपाबीच सहकार्यको चर्चा, पुनर्मिलनमा एमालेभित्रै मतभेद
काठमााडौं, १५ असार । नेकपा (एमाले) र नेकपाबीच सम्भावित सहकार्य तथा पुनर्मिलनको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। एमालेभित्र पार्टी पुनर्गठनको माग उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्ष पुनर्मिलनको पक्षमा देखिएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सहकार्यको पक्षमा धारणा व्यक्त गरेका छन्।
तर, एमालेभित्र पुनर्गठनको वकालत गरिरहेका नेताहरू भने अहिले एमाले–नेकपा पुनर्मिलनको पक्षमा देखिएका छैनन्। उनीहरूको जोड पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा पुनर्गठन गर्नुपर्नेमा छ।
यसैबीच एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सहकार्यको बहसप्रति संकेत गर्दै टिप्पणी गरेका छन्। उनले कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई जस्ताको तस्तै दोहोर्याउनु उपयुक्त नहुने बताएका छन्।
उनले लेखेका छन्, “इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्। मार्क्सको यो भनाइले स्पष्ट पार्छ— समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्याउनु (पुनरावृत्ति गर्नु) उचित हुँदैन।”
पोखरेलको यो टिप्पणीलाई ओली–प्रचण्डबीच सम्भावित सहकार्य वा पुनर्मिलनको चर्चाप्रति लक्षित रूपमा हेरिएको छ।
एमालेभित्र अहिले ‘पुनर्गठन कि पुनर्मिलन?’ भन्ने बहस थप चर्किएको छ। ओली पक्षले वाम सहकार्यको सम्भावना खुला राखेको संकेत गरिरहँदा पुनर्गठन पक्षधर नेताहरू भने त्यसप्रति असहमति जनाइरहेका छन्।







प्रतिक्रिया दिनुहोस्