विद्या भण्डारी : एक निर्वाचनको नतिजाबाट कम्युनिस्ट आन्दोलनको भविष्य तय हुँदैन

काठमाडौं, १४ असार ।  पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलन वा जनताको बहुदलीय जनवाद (जबज) को भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्नो प्राथमिकता, कार्यशैली र जनसम्बन्ध अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको बताइन्।

‘हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु प्राथमिकता, कार्यशैली र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। तर कुनै एउटा निर्वाचन परिणामका आधारमा जनताको बहुदलीय जनवाद वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित हुँदैन,’ उनले भनिन्।

भण्डारीले राजनीतिक आन्दोलनको मूल्यांकन दीर्घकालीन ऐतिहासिक विकासक्रम, जनविश्वास, वैचारिक क्षमता र समाज रूपान्तरणमा पुर्‍याएको योगदानका आधारमा हुने उल्लेख गर्दै निर्वाचनबाट आएको जनादेशको सन्देशलाई भने गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बताइन्।

उनले बदलिँदो राजनीतिक र सामाजिक परिवेशअनुसार कम्युनिस्ट आन्दोलनले आफ्ना नीति तथा कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्