ओलीको दाबी : नेपाली कांग्रेस फुटिसकेको छ, एमाले फुटाउने प्रयास सफल हुँदैन
काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटिसकेको दाबी गर्दै एमालेलाई विभाजन गराउने प्रयास सफल नहुने बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक शक्तिहरूबीच एकता हुन नदिन कांग्रेस फुटाइएको दाबी गरे। तर कांग्रेस कसले फुटायो वा त्यसबाट कुन राजनीतिक शक्ति बनेको भन्नेबारे उनले थप स्पष्ट पारेनन्।
‘यस्तो बेलामा लोकतान्त्रिक शक्तिलाई मिल्न नदिनका लागि कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने।
उनले राजनीतिक दलहरूमा पार्टी एकता गर्न कठिन हुने तर विभाजन हुन सजिलो हुने टिप्पणी गर्दै एमाले भने संगठित र सुदृढ पार्टी भएकाले विभाजनका प्रयास असफल हुने दाबी गरे।
‘मुस्किलले पार्टी एकता गर्यो, सजिलोसँग फुट्छन्। प्रयासहरू भएका छन्, तर एमाले सुदृढ पार्टी हो। आफ्ना उद्देश्यप्रति एमाले सचेत छ। बाहिरबाट हात हाल्न खोजिए त्यस्ता प्रयासलाई चिनेर पराजित गर्छौं,’ उनले भने।
ओलीले पछिल्ला निर्वाचनमा धक्का बेहोरे पनि एमाले कमजोर नभएको उल्लेख गर्दै पार्टी लोकतान्त्रिक र शान्तिपूर्ण बाटोबाट अघि बढ्ने बताए।
‘हामी लडेका हौं, मरेका छैनौं। शान्तिपूर्ण बाटोबाट अघि बढ्छौं। धक्कालाई पराजित गर्दै फेरि उठ्छौं,’ उनले भने।







प्रतिक्रिया दिनुहोस्