प्रचण्डको आह्वान : वामपन्थी र देशभक्त शक्तिहरू ढिला नगरी सहकार्य गरून्
काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, निरंकुशता तथा वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध वामपन्थी र देशभक्त शक्तिहरूले ढिला नगरी सहकार्य गर्नुपर्ने बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता आवश्यक नभए पनि संसद्, सडक र निर्वाचनसम्म सहकार्य गर्न सकिने धारणा राखे।
‘राष्ट्रिय स्वाधीनता, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध वामपन्थी र देशभक्तहरू छिटो एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुनेछ,’ प्रचण्डले भने।
उनले विगतमा वामपन्थी शक्तिहरू एकजुट हुँदा जनताले दुई तिहाइ बहुमत दिएको स्मरण गर्दै त्यस अनुभवबाट समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
‘हामीले विगतमा मिलेको पनि हो, जनताले दुई तिहाइ पनि दिएको हो। यसको समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हतारमा पार्टी एकता गर्ने र फुर्सदमा विभाजन भएर पछुताउने अवस्था आउन नदिन गम्भीर समीक्षा आवश्यक छ।’
प्रचण्डले निरंकुशताविरुद्धको आन्दोलनमा पनि वामपन्थी शक्तिहरूको एकताबाट महत्वपूर्ण सफलता हासिल भएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा सहकार्यको आवश्यकता झन् बढेको बताए।







प्रतिक्रिया दिनुहोस्