ओलीको प्रश्न : प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति कहाँ खण्डन भयो ?
काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति हालसम्म खण्डन नभएको बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओलीले चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा प्रधानमन्त्रीले लिपुलेक र कालापानी नेपालको भूमि भएको बताए पनि संसद्मा दिएको अभिव्यक्ति भने खण्डन नभएको दाबी गरे।
‘हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट, कति निराधार र देशविरोधी कुरा,’ ओलीले भने।
उनले लिपुलेक र कालापानी नेपालको भूभाग भएको विषयमा संसद्मा कुनै विवाद नरहेको उल्लेख गर्दै विवाद प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको दाबी गरेको विषयमा रहेको बताए।
‘लिपुलेक र कालापानी नेपालको हो भन्नेमा संसद्मा विवाद भएको होइन। नेपालले थुप्रै ठाउँमा सीमा मिचेको छ भन्ने अभिव्यक्तिमा विवाद भएको हो। त्यो कुरा अहिलेसम्म खण्डन भएको छैन,’ उनले भने।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको पुष्टि गर्न वा पुष्टि गर्न नसके संसद्को अभिलेखबाट हटाउन एमालेसहित प्रतिपक्षी दलहरूले माग गर्दै आएका छन्।







प्रतिक्रिया दिनुहोस्