कांग्रेसको माग: शिक्षा र स्वास्थ्यमा समताशुल्क नलगाइयोस्

काठमाडौं, १४ असार ।  नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समताशुल्क (Equalization Levy) नलगाउन सरकारसँग माग गरेको छ।

आर्थिक विधेयकमाथिको छलफलका क्रममा संयुक्त संशोधनकर्ताको तर्फबाट कांग्रेस सांसद नरेन्द्र केरूङले सरकारी विद्यालय र अस्पतालले धान्न नसकेको सेवा भार निजी क्षेत्रले वहन गरिरहेको अवस्थामा त्यसमाथि थप कर लगाउनु उपयुक्त नहुने बताएका हुन्।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइने शुल्क कुनै अध्ययन वा अनुसन्धानका आधारमा नभई अर्थमन्त्रीहरूको इच्छाअनुसार परिवर्तन हुँदै आएको आरोप लगाए।

‘शिक्षा र स्वास्थ्यमा करमा उतारचढाव छ। यो अध्ययन अनुसन्धान गरेर लगाइएको छैन। अर्थमन्त्रीहरूको सनकको भरमा यस्तो शुल्क लगाउने गरिएको छ,’ केरूङले भने। ‘२०६६ सालमा तत्कालीन अर्थमन्त्रीले ५ प्रतिशत यस्तो शुल्क उठाउने व्यवस्था गर्नुभएको थियो। त्यसपछिका अर्थमन्त्रीले त्यसलाई १ प्रतिशतमा झार्नुभयो र पछि हटाइयो। अहिले फेरि ३ प्रतिशत लगाउने प्रस्ताव गरिएको छ। यो व्यवस्था हटाइनुपर्छ।’

केरूङले कर बक्यौतासम्बन्धी अदालतमा विचाराधीन मुद्दामा कर, जरिवाना तथा अतिरिक्त शुल्क मिनाहा दिने व्यवस्था पनि नगर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्