उपराष्ट्रपति यादवद्वारा शिक्षा प्रणालीलाई अनुसन्धान र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड

काठमाडौं, १४ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कृत्रिम बौद्धिकता (AI) सहित आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग एकीकृत गर्नुपर्ने बताए।

उपराष्ट्रपति यादवले नेपालमा शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्न सकिने धारणा व्यक्त गरे। उनले शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।

“शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ। बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार हो,” उनले भने, “राष्ट्र निर्माणमा शिक्षाले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ।”

उनले युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन शिक्षा प्रणालीले सहयोग गर्नुपर्ने र प्रमाणपत्र केन्द्रित शिक्षाभन्दा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। साथै, विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले कलेजले गुणस्तरीय र सुलभ शिक्षा प्रदान गर्ने लक्ष्यअनुसार काम गरिरहेको बताए।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले मदन भण्डारी मेमोरियल कलेजलाई उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा मूल्यांकन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्