कक्षा १२ नतिजामा त्रुटि भएको भन्दै सरकारलाई ‘ओभर स्मार्ट’ नबन्न कांग्रेस सांसद गीता गुरुङको चेतावनी

काठमाडौं, १४ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले कक्षा १२ को नतिजा सार्वजनिक प्रक्रियामा देखिएको त्रुटिलाई लिएर सरकारलाई ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिएकी छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नतिजा छिटो सार्वजनिक गर्नु सकारात्मक भए पनि त्यसको शुद्धतामा असर पर्ने गरी प्रक्रिया तोडमोड गरिएको भन्दै आपत्ति जनाइन्।

उनले रिटोटलिङका नाममा विद्यार्थीमाथि आर्थिक भार पर्ने व्यवस्था बन्द गरी निःशुल्क पुनर्मूल्याङ्कन प्रणाली लागू गर्न माग गरिन्।

“छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा असर पर्ने गरी प्रक्रिया तोडमोड गर्नु निन्दनीय हो,” सांसद गुरुङले भनिन्, “सरकार स्मार्ट बनोस् तर हरेक विषयमा प्रश्नैप्रश्न उठ्ने गरी ओभर स्मार्ट बन्न नलागोस्।”

गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक प्रभावित भएको आरोपसमेत लगाइन्। उनले यस विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।

उनले हाल गठन गरिएको छानबिन समिति औपचारिकतामा सीमित हुन नहुनेमा पनि जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्