रास्वपाको प्रदेश संरचना खारेज गर्ने निर्णयप्रति नेकपा प्रमुख सचेतक दुलालको आपत्ति
काठमाडौं, १४ असार । प्रतिनिधि सभामा प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश संरचना खारेज गर्ने निर्णय गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले निर्वाचनका क्रममा रास्वपाले मधेस, सुदूरपश्चिम र कर्णाली जस्ता विकासमा पछाडि परेका प्रदेशहरूमा पुगेर प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने आश्वासन दिँदै मत मागेको तर अहिले आएर तिनै संरचना खारेज गर्ने नीति अघि सार्नु जनताप्रति “धोका र बेइमानी” भएको आरोप लगाए।
“निर्वाचनको क्रममा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनेर मत माग्ने र पछि तिनै संरचना खारेज गर्ने नीति पारित गर्नु जनताप्रतिको बेइमानी र धोका हो,” दुलालले भने।
उनले सरकार गठन हुनुअघि सुकुम्बासी व्यवस्थापन नभए आफूले जिम्मेवारी लिने अभिव्यक्ति दिइएको भए पनि सरकार बनेपछि त्यही बस्तीमा डोजर चलाइएको भन्दै आलोचना गरे।
दुलालले गणतन्त्रविरोधी कुनै पनि गतिविधिको कडा रूपमा सामना गर्ने चेतावनीसमेत दिएका छन्।







प्रतिक्रिया दिनुहोस्