सांसद कँडेलद्वारा सरकारमाथि कडा आलोचना, राजनीतिक प्रतिशोध र विवादित अभिव्यक्तिप्रति आपत्ति
काठमाडौं, १४ असार । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले सरकारको कार्यशैली, प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर कडा आलोचना गरेका छन्।
सांसद कँडेलले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले प्रधानमन्त्रीले “नेपालले भारतको भूमि मिचेको छ” भन्ने टिप्पणी गर्नु गम्भीर र आपत्तिजनक भएको भन्दै यसले राजनीतिक रूपमा गलत सन्देश जाने दाबी गरे।
उनका अनुसार, यस्तो अभिव्यक्ति सम्बन्धित पक्षले समेत नउठाएको विषयमा संसदमा उठाइनु “गम्भीर षड्यन्त्रको संकेत” भएको हुनसक्ने आशंका व्यक्त गरे।
त्यसैगरी, सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेल निर्दोष रहेको दाबी गर्दै उनले उक्त गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरे। उनले सरकारमाथि विपक्षीलाई तर्साउने र बदनाम गर्ने रणनीति अपनाएको आरोपसमेत लगाए।
कँडेलले सरकारका केही कदमहरू अन्तर्राष्ट्रिय निकाय (एफएटीएफ) लाई देखाउनका लागि मात्रै गरिएको “नाटक” भएको टिप्पणी गर्दै कडा आपत्ति जनाए। साथै, उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी गरिएको गिरफ्तारी राजनीतिक उद्देश्यप्रेरित भएको उनको भनाइ थियो।
त्यसैगरी, मन्त्रीहरूले सचिवालयमा ठूलो संख्यामा सल्लाहकार र निजी सचिव राख्न पाउने तयारीबारे आएका समाचारप्रति पनि उनले प्रश्न उठाए। यदि यो सत्य भएमा यसलाई “नीतिगत भ्रष्टाचारको पराकाष्ठा” मान्नुपर्ने उनको टिप्पणी थियो।
सांसद कँडेलले प्रधानमन्त्री कार्यालय मातहतका छानबिन निकायहरूलाई राजनीतिक हतियारको रूपमा प्रयोग नगर्न चेतावनीसमेत दिएका छन्।







प्रतिक्रिया दिनुहोस्