एन्फा निलम्बन फुकुवा गर्न सरकारलाई सांसद राईको तत्काल पहलको माग

काठमाडौं, १४ असार । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबल महासंघ (फिफा) ले गरेको निलम्बन फुकुवा गराउन सरकारलाई तत्काल कूटनीतिक, कानुनी र प्रशासनिक पहल अघि बढाउन माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न फिफाले तोकेका सबै सर्त पूरा गर्दै एन्फा निलम्बन फुकुवा गराउन सरकार सक्रिय हुनुपर्ने बताए।

सांसद राईले फिफाले उठाएको तेस्रो पक्ष हस्तक्षेपसम्बन्धी विषय समाधान गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता आवश्यक रहेको उल्लेख गरे।

उनले फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुनअनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

सांसद राईले खेलकुद ऐन र फिफा नियमबीच देखिएको कानुनी अस्पष्टता हटाउन पनि सरकारलाई आग्रह गरे। उनका अनुसार खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियमन कायम राख्दै अन्तर्राष्ट्रिय मान्यता प्रभावित नहुने गरी राजनीतिक तथा प्रशासनिक हस्तक्षेप अन्त्य गर्नुपर्छ।

उनले राष्ट्रिय तथा क्लब स्तरका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्